दिपा आले,
काठमाडौँ ।
श्रीमान सम्माननिय प्रधानमन्त्री ज्यू,
लोकतान्त्रिक गणतन्त्रमय देशमा आज जनताको मानवअधिकार हनन् हुंदैछ । नेपाली जनता आफ्नै वर्तमान सरकारबाट लुटिदैछन् । जनताको भोटबाट निर्वा्चित भई सत्तामा पुगेका सत्ताधारीहरुले यति बेला जनताको अत्मासम्मानलाई ठेस पुराउने काम गरिरहेको छन् । दुःख साथ भन्नु पछर्, वर्तमान सरकारले जनताको मुखमा नमज्जाले झापड हान्ने काम गर्दैछ ।
बर्तमान ओली सरकार बनेको चार महिना नपुग्दै पाँच पटक मूल्य वृद्धि गरेर गरीब जनताको ढाड सेक्ने काम मात्र होइन साँझ बिहानको एक छाक जोहो गर्न समेत वर्तमान सरकार बाधक बन्दैछ ।
तपाई हामीले देख्दैछौं मूल्य वृद्धि गरेर केवल इन्धनमा मात्र होइन जनताले साँझ बिहान खाने खाद्यन्य वस्तुहरुमा पनि मूल्य वृद्धि हुदैछ । तर हामी स्यंम जनताहरु लाचार भएर बसेका छौं । तर वर्तमान सरकारलाई खबरदारी गर्न भने तपाई हाम्रो खुट्टा काम्ने गर्दछ । जसले गर्दा वर्तमान सरकार गरीब जनताको बुई चढेर ढाड सेक्ने काम तिब्र रुपमा गरिरहेको छ ।
लोकतान्त्रिक गणतन्त्रमय देशमा वर्तमान सरकार शासन र सत्ताको दुरुपयोग गर्दै जनतामाथि अधिनायकवाद लाद्न थालेको यस्ता गतिविधिले देखाउंदैछ । किन कि यति बेला गरीब जनताका छोराछोरी आफ्नो अध्ययन छाडेर भोको पेट चर्को घामको वेवास्ता गर्दै आफूमाथि राज्यले गरेको अन्याय अत्याचार विरुद्ध धावा बोल्दै सडकमा आन्दोलन गर्न बाध्यछन् । तर सत्तामा बसेर रजाई गरेको वर्तमान सरकारले भने दुई तिहाईको दम्भमा गरिब जनताको पसिना मात्र होइन रगत चुस्न थालिसकेको सरकारको रबैयाले देखाउंछ ।
इन्धनको मूल्य हप्तै पिच्छे बढ्दैछ, त्यसको विरुद्धमा गरिब जनताका छोराछोरी सडकमा विरोध प्रर्दशन गर्दैछन् तर सरकार भने सत्तामा बसेर जनताको तमासा हेरिरहेका छ । दैनिक उपभोग्य वस्तुहरुको मूल्य पनि दिनदिनै बढ्दैछ, जसले गर्दा अध्ययनरत विद्यार्थीहरु मात्र होइन सर्वसाधारण जनताहरुको रोजीरोटीमा समेत धक्का पुग्न थालेको छ । तर सरकार भने कासी पुगेर नदीमा पौडिदै आफूले गरेका पाप पखाल्न व्यस्त छन् । सत्ता र शक्तिमा बसेका ठूला नेताहरु आफै बोक्सी आफै धामी बनेर आफ्ना पापहरु पखाल्न जनताको सेवा गर्छु भन्दै महाभारतका कथा जनतालाई सुनाई रहेका छन् तर भाषण एउटा तर व्यवहार भने हात्तिले देखाउने दांत जस्तो भएको छ ।
मुलुकमा वर्तमान सरकारले सत्ता समालेको केही क्षणमै जनतामाथि अंकुश लाग्नु कहां सम्मको लोकतन्त्र हो ? आज हामी जनताले गम्भीर भएर बुझ्न जरुरी छ । राजाको निरंकुश शासन र सत्तालाई ढालेर देशमा पछिल्लो पटक नेपाली जनताले चाहेको, रोजेको लोकतन्त्रमाथि यति बेला फेरी प्रहार हुंदैछ । जनता माथि सत्ताधारीहरुले अधिनायकबादको झुण्ड फैलाउंदैछन् । त्यति मात्र होइन शक्ति र सत्ताको दम्भमा दिनप्रतिदिन जनताको रोजीरोटी खोसिदै छ ।
वर्तमान सरकार सत्ता र शक्तिको घमण्डमा श्रमजिवि पत्रकारको श्रम खोसेर नालायकीपन देखाउंदैछ । यति बेला देशमा ठूला ठूला घटनाहरु घटि रहेका छन् । कतै सुन काण्डको घटनाले जनतालाई तर्सित बनाएका छन् भने कतै रुडिबादी संस्कार र कुप्रथाका कारण अकालमा महिलाले ज्यान गुमाउनु परेको छ । सडकमा आएर गरिब जनता जति नै आन्दोलन र विरोध गरेपनि वर्तमान सरकारलाई कुनै चिन्ता र चांसो छैन । जसले केवल आफ्नै अधिनायकबादको गन्ध फैलाउंदैछ ।
सत्ताधारीहरुलाई जनताको जनजिविका भन्दा आफ्नो बढी चिन्ता देखिन्छ । आफू र आफ्नो पार्टीलाई कसरी बचाउन सकिन्छ भन्ने सोंचमा ग्रस्त रहेका सत्तासीन शासकहरु भोको भेट आन्दोलनमा उत्र्रिएका गरिब जनताका छोराछोरीहरुको भविष्य प्रति कुनै दिलचस्पी देखिदैनन् । जसले गर्दा आफै मुढेबल प्रयोग गरेर सत्ताको भरमा शक्ति लगाएर जनताका छोराछोरीलाई यति बेला कोर्रा हान्ने काम भइरहेको छ ।
जनताको सेवाका लागि भनेर सत्तामा पुगेका नेताहरु वर्तमान परिवेशमा आइपुग्दा समस्यालाई समाधान गर्न तिर भन्दा कुर्चिमा बसेर रिमोट चलाउने काम मात्र भईरहेको छ ।
के यही हो त विधिको शासन भएको देश ? लाग्दैछ देशमा अब लोकतन्त्र प्रति प्रहार हुंदैछ । लोकतन्त्रमा प्रहार हुनु भनेको जनताको सावभौमसत्ता खोसिनु हो । प्रत्येक नेपाली जनताको व्यक्तिगत स्वतन्त्रता र आत्मा सम्मानमा ठेस पुराउनु हो ।
किन कि विगतका दिनहरुमा पनि मूल्य वृद्धि नभएका होइनन् तर विद्यार्थीहरु सडकमा आई आन्दोलन गरेपछि त्यसलाई सम्बोधन गरिएको थियो । खबरदार ! लोकतन्त्रमा सत्ता र शक्तिको रजाईमा जनताको मूल्यमान्यता र अस्त्तिवमाथि खेलवाड गर्न पाइदैन । यदि जनतामाथि बारम्बार अधिनायकबादको अंकुश लगाईन्छ भने त्यसको प्रतिकार र खबरदारी जनताले गर्नेछ । लोकतन्त्रलाई बचाउन नेपाली जनताले कुनै पनि हालतमा वर्तमान सरकारसंग सौदाबाजी गर्नेछैन ।
न त अन्याय अत्याचार नै सहन गर्नेछ । जब जब देशमा लोकतन्त्रको घांटी निमोठने काम सत्ता पक्षबाट हुन्छ तब तब थाहा पाउनुकि अब त्यसको अन्त्य हुंदैन । किन कि एक पटक विगतको ईतिहास केलाएर हेरौं राणादेखि शाही शासन सम्मको इतिहास । त्यस कारण सत्ता र शक्तिको भरमा कुनै पनि दल वा शासकले अन्याय अत्याचार गर्न पाउंदैन । सत्तामा पुराउन जनताले कति दुःख गरे भन्ने कुरा सधैं याद राख्नु पर्छ ।
सरकार जुनै दल वा पार्टीबाट आएर किन शासन नगरोस् तर सरकारमा बसेर जनताको रोजीरोटी खोस्ने काम गर्छ भने त्यसको विरुद्ध खबरदारी गर्नुपर्छ । चाहे आफ्नै पार्टी किन नहोस् । जनताको जनजिविकालाई आघात पुराउने सरकार विरुद्ध धावा बोल्न पछि पर्नु हुंदैन, यदि हामी सांच्चै नै नेपाली आमाको सपुत हौँ भने । गलत लाई गलत हो र सही लाई सही हो भन्ने हिम्मत हामी भित्र हुनुपर्छ । आफ्नो पार्टी हो भनेर गलत गतिविधिलाई पृष्ठपोषण नगरौं जसका कारण लाखौं जनताहरुले एक छाक टार्नकोलागि आत्माहत्या गर्न नपरोस् ।
सरकारमा बसेका सत्ताधारीहरु जेठ असारको चर्को घाममा आएर एक पटक उभिएर मात्र हेर्नुस् अनि थाहा पाउनु हुनेछ जनताको रगत कति तातिएको छ । इन्धन मुल्य वृद्धि मात्र होइन खाद्यन्यमा भएको मूल्यलाई समेत जति सक्दो घटाएर विद्यार्थीको सुन्दर भविष्य बनाउन तर्फ वर्तमान सरकार लाग्नु पर्छ । होइन भने ति गरीब जनताका छोराछोरीहरुले आफ्नो हकअधिकारकोलागि सडकमा आज आन्दोलन र राँको मात्र बालेका छन् । भोलीको दिन त्यो आन्दोलनले ठूलो विकराल रुप नलेला भन्न सकिदैन । त्यो अवस्थामा हुने गम्भीर क्षतिपूर्तिको जिम्मा कसले लिने हो ? यस बारेमा सत्ताधारीहरुले गम्भीर भएर सोच्नु पर्छ ।
सत्ताधारीका सन्तानहरु विदेशी राष्ट्रमा गएर अध्ययन गर्ने हामी गरीब जनताका सन्तान यसरी तातो घाममा आन्दोलन गरेर मर्ने कार्य रोक्नु पर्छ । जनताका छोराछोरी पनि आफ्नै सन्तान हो भनेर बुझ्ने प्रयास गर्नुस् । हिजो आफू कुन ठाउँंमा थिए भन्ने कुरा आजका मै हुंँ भन्ने शासकवर्गहरुले बिर्सिनु हुंदैन । किनकि सत्तामा पुर्याएका जनताले तपाईहरुको गतिविधिलाई नजिकबाट मूल्यांकन गरिरहेका छन् ।
त्यसैले जनतालाई रुवाउने, दुःख दिने र आन्दोलन र विरोध गर्ने आन्दोलनकारीको विल्ला नभिराउ सरकार । सत्ता र शक्तिको घमण्डलाई त्यागेर जनहितकोलागि सफल सरकार बनेर देखाउनु होस् । अनि सबै जनताले तपाईहरुलाई जय जयकार गर्नेछ ।
प्रधानमन्त्रीलाई चेलीको खुल्ला पत्र ः सत्ता र शक्तिको घमण्ड त्यागेर, जनहितकोलागि सफल सरकार बनेर देखाउ