श्रम दिवस नारामा मात्र सिमित, मजदुरका पिडा जस्ताको तस्तै

पिएन ओझा काठमाण्डौँ –
मे १ अर्थात अन्तराष्ट्रिय १२९ औं श्रमिक दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँयो । विभिन्न क्षेत्रमा काम गर्ने मजदुरहरूको नेतृत्व गर्नेहरूले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्तिविकास, श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै हरेक वर्ष उत्सव जस्तै गरी यो दिवस मनाउने गर्छन् ।
विश्वका मजदुरले सो दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दवाव दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।
किन श्रमिक दिवस मनाउन थालियो ?
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाउन लागिएको हो । अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो ।
स्मरण रहोस त्यो आन्दोलन पूर्व सामान्यरुपमा संसारभरिका कामदारहरुले दैनिक १६ घन्टासम्म पनि कार्य गर्दथे । मे दिवसले श्रम क्षेत्रमा एउटा युगान्तकारी परिवर्तन ल्याएको छ र आजको वढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनवाट शुरु गरिएको हो । शनिवारको दिन घरमा आरामले वसिरहँदा हप्ताको एक दिनको विदा अनि कार्यलय समयको निर्धारण गरि ८ घन्टा गराउन यसै दिन धेरै जना श्रमिकले ज्यान गुमाएका थिए ।
नेपालमा श्रमिक दिवसको ईतिहास र अवस्था ।
नेपालको विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै श्रमिक दिवस मनाउन थालिएको हो ।  भने २०४६ को राजनीतिक परिवर्तपछि सार्वजनिक बिदा दिन थालिएको हो ।
०४६ पछि देशमा धेरै संवैधानिक निति नियम र  कानुन बन्नुका साथै मुलुकको राजनीतिक व्यवस्थाले पनि तुलनात्मक  रुपमा गति लिएकै हो ।
श्रमिक दिवसमा हाम्रो देशमा पनि मजदुर संगठनहरुले विभिन्न कार्यक्रम गरी धुमधाका साथ मनाउने गर्दछन् ।
लोकतान्त्रिक व्यवस्थामा सबै अटाउने, सबै श्रमिकको अधिकार सुनिश्चित हुनुपर्ने हो । तर नेपाली श्रमिकहरुले स्वदेश तथा विदेशमा श्रम गर्दा र पसिना बगाउँदा अनुकूल श्रम वातावरण, न्यायोचित कार्यघण्टा एवं पारिश्रमिक, सामाजिक सुरक्षा लगायतका सबै श्रम अधिकार सुनिश्चित भएको छ, छैन् कसैले पनी आवाज उठाउदैन् ।
पछिल्लो तथ्याङ्कलाई हेर्ने हो नेपालबाट सरदर ४० लाख युवाहरु श्रमका लागि विश्वका विभिन्न  ठाउमा  पुगेका छन् । आफ्नो पसिना बगाएर, श्रम गरेर मिहिनेतको कमाइ खाने सम्पूर्ण श्रमजीविहरुलाई यस दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरीका श्रमजीविहरुलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास आम नागरिकलाई लागेको छ । श्रमिक दिवसमा आयोजित कार्यक्रममा उफ्रि उफ्रि मञ्चमा नेताहरुले भाषण गरेता पनि श्रमिक वर्गका पिडा जहाका त्यहि खुम्चिवएका छन् । कार्यक्रममा श्रमिक वर्गहरुका समस्यालाई सम्बोधन गर्नुको सट्टा उल्टै आफु निकट राजनीति दलका गफ छाटेर मरुन्जेल भाषण गर्ने गरेको पाईन्छ  ।
श्रमिकको हकहितका लागि आवाज उठाउने संगठन
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासंघ (स्वतन्त्र) ,राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ (एनडिफोन्ट) लगायतका धेरै संगठन रहेका छन् । जो राजनीतिक छत्रछाँयामा मजदूर संगठनको नाममा गद्दारी गरिरहेका छन् ।
सामान्यतया काठमाडौँमा बस्न  तीन जना परिवारको  महिनामा २० हजार खर्च हुन्छ । तर सरकारले एक जनाको न्युनतम पारिश्रमिक ९ हजार ७ सय मात्र तोकेको छ ।  त्यसैले परिवार पाल्न थप परिश्रम गर्नु पर्दछ । जसले गर्दा मजदुरले अर्को आठ घण्टा काम गर्नु पर्ने बाध्यता छ । सामान्य जिवन यापन गर्न र आफ्ना तथा परिवारका आवश्यकता परिपुर्ति गर्न सरकारले तोकेको न्युनतम पारिश्रमिक  भने कतै पनि मेल खादैन् । वढ्दो महङ्गी र वदलिदो परिवेशमा मजदुरलाई सम्मानजनक जिउनका लागि न्युनतम पारिश्रमिक कम्तिमा पनि २० हजार वनाउनु पर्छ । त्यसैले मजदुरलाई सम्माजनक जिवनयापन गर्न पुग्ने गरी सरकारले सबै क्षेत्रका मजदुरको तलब तोक्नु पर्ने आवाज व्यापक रुपमा उठिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार