म्युजिक भिडियोमा जम्दै साहारा

  देवेन्द्र खापुङ  300 पटक हेरिएको

काठमाडौं, ५ पुस । यसै हप्ता गायक लक्ष्मण लिम्बू र मञ्जु लावतीको स्वरमा रहेको ‘सारङ्गीको मिठो धुन’ सार्वजानिक भयो । म्युजिक भिडियोसहित सार्वजानिक भएको गीतमा साहारा खापुङ मोडलको रूपमा देखिएकी छिन् ।

नेपाली तथा नेपालमा रहेका आदिवासी मुहारमा केही फरक ‘लुक्स’ लिएर आएकी साहाराको यो पहिलो म्युजिक भिडियो भने होइन । उनले सार्वजानिक भइसकेका ३ वटा र हुन बाँकी २ गरी ५ वटा जति म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

साहाराले दुई वर्ष अगाडि राजु आङ्देम्बेको रचना र संगीतमा मञ्जु कङ्ली लिम्बूको ‘ओ बि मेम्बी’ बोलको लिम्बू गीतबाट अभिनय शुरुवात गरेकी थिइन् । त्यसपछि खगेन्द्र यक्सोको रचना र संगीतमा समिर सिंगकको स्वर रहेको ‘लाम्पाते सुरती’मा देखिइन् ।

सानोमा शान्त स्वभाव, अरुसँग घुलमिल भइहाल्न नखोज्ने खालकी थिइन् साहारा । गाउँबाटै प्रारम्भिक शिक्षा साथै उच्च माध्यमिक तह पूरा गरेर काठमाडौं आएकी हुन् । तेह्रथुमको मोराहाङमा जन्मी हुर्केकी साहारा सुचना व्यवस्थापना (बीआइएम)को स्नातक तह पूरा गरी अहिले ‘वेव डिजाइन’ गरिरहेकी छिन् । साथै, एक अन्तर्राष्ट्रिय संस्थासँग आवद्ध रहेर काम पनि गरिरहेकी छिन् ।

सानैदेखि अभिनयमा मोह थियो भन्ने प्रश्न राख्दा साहारा भन्छिन् –‘पहिले गाउँमा टेलिभिजनको पहुँच थिए, त्यसैले अभिनय के हो ? राम्रो ज्ञान भएन त्योबेला । नृत्यमा भने सानैदेखि रुचि राख्थेँ । स्कुलमा हुँदा नृत्य प्रतियोगितामा सँधै भाग लिने गर्थे ।’

पढाई र मोडलिङलाई उत्तिकै समय दिने मन बनाइएकी साहाराले दुवै कुरालाई सँगसँगै लैजान भने निकै गाह्रो नै हुने बताइन् । तर, त्यसलाई कसरी व्यवस्थापन गरेर लैजाने भन्ने कुरा आफैमा भर पर्ने कुरा पनि बताइन् ।

आफूले काम गरेको भिडियो हेर्दा अलिअलि हिच्किचाहट लाग्ने, कतिपय ठाउँमा चित्त नबुझ्ने हुन्छ रे । कतिपय ठाउँमा त्यो भन्दा राम्रो गर्न सकेको भए हुनेरहेछ साहारालाई । बढिजसो चाही आफूलाई सुधार्नुपर्ने नै देख्छिन् ।

अहिलेसम्म आफूले गरेको काम प्रायः सबै राम्रै लाग्ने साहाराले बताइन् । सबैमा धेरथोर मेहनत परेको हुनाले मन पर्नु स्वभाविक नै हो, उनको भनाई थियो । अहिले सम्म आफूले गरेको काममध्ये दर्शकहरूले अत्याधिक रुचाइएको भिडियो ‘ओ बि मेम्बी’ रहेको बताइन् । आगामी दिनमा अझै राम्रो टिममा काम गर्ने योजना उनको रहेको छ ।

नयाँअनलाइनडटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार