
तेह्रथुममा अंग्रेजी शिक्षा भित्र्याउने व्यक्ति हुन् हर्कजङ खापुङ । बुबा स्व. वीरध्वज खापुङ र आमा स्व. हर्कमाया खापुङको कोखबाट वि.सं. १९६२ मा जन्मनुभएका हर्कजङले ब्रिटिस सेनाका सुवेदार बुबा वीरध्वज खापुङ भएका कारण दरभङ्गामा प्रारम्भिक शिक्षा हासिल गर्नुभएको थियो । दरभंगाबाट म्याट्रिकमा अनुतीर्ण भएपनि राम्रो अंग्रेजीका ज्ञाता थिए । पढ्नुपर्छ भन्ने मान्यताका कारण पल्टनलाई लत्याई तेह्रथुममा आई धेरै पछि एसएलसी गर्नुभएको थियो । तेह्रथुमको सदरमुकाममा आई अंग्रेजी शिक्षा सिक्नुपर्छ भनी विद्यार्थीहरु भेला गृहअध्यापन गर्नुभएको थियो । हालको वोर्डिङ स्कुल तथा ल्याङ्ग्वेज सेन्टरको झल्को दिने खालको शिक्षण पेशा अपनाएका थिए । उनको उत्प्रेरणाले श्री सिंहवाहिनी स्कुलका प्रथम प्रधानाध्यापक स्व. नारायणमान श्रेष्ठले दार्जिलिङ गई मेट्रीकुलेशन पास गरेर आउनुभएको हो ।
फुर्सदमा पत्रपत्रिका जम्मा पारेर पढ्ने, विभिन्न ज्ञानाआर्जन गर्ने कार्यमा संलग्न हर्कजङलाई बुबाले आफ्नो ठाउँमा भर्ति गराउन खोज्दा पनि ‘पैसा मात्र ठूलो कुरा होइन, आफ्नै देशका बालबालिका आँखा देखाउन ठूलो कुरा हो’ भन्ने दर्शन दिएर स्वेच्छाले नै अध्यापनमा लाग्नुभएको थियो । हर्कजङ्ले श्री ग्रामसुधार निमावी पौदिन जललेमा लमो समय अध्यापन गराउनुभएको थियो भने आफ्नै गाउँ मोराहाङमा धुलौटो भुइँमा अध्यापन शुर गराएर गौखुरी मावि बनुन्जेलसम्म अध्यापन गर्नुभयो । उहाँले गौखुरी माविबाटै शिक्षण पेशाबाट पेन्सन पकाउनु भएको थियो । उनको देहान्त २०४६ साल आश्विन ११ गते आफ्नै निवासमा भयो । उनका ५ भाई छोरा र २ बहिनी छोरीको जायजन्म भएको थियो ।