म्याग्दी पहिरो : १९ जनाको शव भेटियो, घाइते १२ जनाको हेलिकप्टर मार्फत उद्धार

साधन राम्जाली
म्याग्दी । शुक्रबार गएको पहिरोमा परेर घाइते भएका १२ जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । घटना स्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँवरका अनुसार नेपाली सेनाको हेलिकप्टर मार्फत घाइतेको उद्धार गरिएको हो । अहिलेसम्म पहिरोबाट प्रभावित ८५० जनालाई सुरक्षित  स्थानमा सारिएको छ ।

अहिलेसम्म पहिरो र बाढीमा परेर ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । घाइतेहरुको बेनी अस्पताल र पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

हराइरहेकाहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । विहिबार रातीदेखी अविरल बर्षाका कारण शुक्रबार बस्ती माथिबाट खसेको पहिरोमा परेर धवलागिरी गाउँपालिका –६ मराङ्गमा २१ जना र मालिका गाउँपालिका–७ बिममा ९ जना बेपत्ता भएका थिए । भने मालिका गाउँपालिका– ६ स्थित दुखु खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन् । भने जिल्लाको रघुगंगा गाउँपालिका–६ का एक पुरुषलाई बाढीले बगाएर मृत्यु भएको थियो ।

 

भिरालो जमिन, भुमिगत पानी तथा कमजोर भुगोलका कारण पहिरो गएको स्थानीयको भनाइ छ । स्थानीय ,प्रहरी ,जनप्रतिनिधि तथा युवा क्लबको टोली पहिरो प्रभावित क्षेत्रमा उद्धार राहत व्यवस्थापनमा खटिएका छन् । पहिरोमा परेर हराइरहेका र घाइतेको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ ।

 

परोपकारी संस्था ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्य र जिसी ग्रुपका सञ्चालक तथा युवा व्यवसायी नारायण जिसीको पहलमा निजी खर्चमा प्रभुको हेलिकप्टर मार्फत महिलालाई उद्धार गरीएको हो । पहिरोमा परी गम्भिर घाइते भएकी महिला घटनास्थलमा छटपटाइरहेको खबर आएपछि आफूहरुले निजी खर्चमा उद्धार गरिएको ओमकुमारी शान्तिकोषका अध्यक्ष शाक्यले बताए ।

घाइते महिलाको स्वास्थ्य अवस्था नाजुक हुँदै जान थालेको र तत्काल उपचारका लागि हेलीकप्टरको आवश्यकता भएको जानकारी आएपछि हेलिकप्टर मार्फत उद्धार गरिएको जिसीले बताए ।

 

उद्धार गरिएकाहरुमा ६ महिनाको गर्भवति महिला २२ वर्षीय मञ्जीला सिरपाली र उनको ८ वर्षीय छोरा सफल सिरपाली रहेका छन् । गर्भवती महिलाको अवस्था गम्भिर भएकाले बेनी अस्पतालले पोखरा रिफर गरेको छ । छोराको अवस्था भने समान्य रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार